Tuesday, January 29, 2013

बिदेशबाट फर्किने कामदारलाई म्यानपावर एजेण्टले १५ हजार रुपैयाँ दिने


===================================== 

१६ माघ, काठमाडौँ। विदेश गई भनेजस्तो काम नपाएर फर्केका कामदारलाई म्यानपावर एजेण्टहरुले राहतस्वरुप १५ हजार रुपैयाँ दिने भएका छन् ।
नेपाल वैदेशिक रोजगार प्रतिनिधि (एजेन्ट) एसोसिएसनले सम्झौताबमोसजिम काम नपाएर फर्किएकाहरुलाई राहत दिने घोषणा गरेको हो । मंगलबार काठमाण्डौमा पत्रकार गरि एसोसिएसनले व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन विभिन्न नीति सार्वजनिक गरेको छ ।


सरकारबाट इजाजत लिएका सबै प्रतिनिधिलाई सो संस्थाको सदस्यता वितरण गर्ने, चालु आर्थिक वर्षभित्र एक हजार ५०० प्रतिनिधिलाई सदस्यता प्रमाणपत्र प्रदान गर्ने, श्रमिकलाई विदेश पठाउने प्रतिनिधि तथा जाने व्यक्तिको नाम अभिलेख गर्ने, कामदारको ठेगाना, पासपोर्ट नम्बर, भिसा, म्यानपावर कम्पनीको नाम, ठेगाना, जाने देशको नाम, रोजगार दाता कम्पनीको नाम, कामको विवरण, मासिक तलव, करार अवधि, म्यानपावर कम्पनीलाई दिएको रकम/सम्झौतापत्र, वैदेशिक रोजगार विभागबाट लिएको अन्तिम श्रम स्वीकृति र स्टिकर तथा विमाको प्रतिलिपिलाई अभिलेख गर्नेलगायतका नीति सार्वजनिक गरिएको हो ।

एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा जान चाहने श्रमिकलाई कहीकतैबाट पनि ठगिन नपरोस् भनी श्रम मन्त्रालयको निर्देशनअनुसार नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
सो नीतिमा वैदेशिक रोजगार ऐन र नियमलाई प्रतिनिधि तथा एजेन्टको अनुकूल हुने गरी संशोधन गरी आवश्यक कारबाहीका लागि अगाडि बढाउने, इजाजत प्राप्त प्रतिनिधिलाई छोटो समयको सीप तथा क्षमता विकाससम्बन्धी तालिम प्रदान गर्ने, वैदेशिक रोजगार प्रतिनिधि समाज कोष स्थापना गरी सो सञ्चालनका लागि निर्देशिका बनाउने, विदेश गई भनेजस्तो काम नपाएर फर्केका कामदारलाई राहतस्वरुप रु १५ हजार एसोसिएसनले उपलब्ध गराउनेलगायतका छन् ।
त्यसैगरी वैदेशिक रोजगार ऐन र नियमावली २०६४ ले प्रतिनिधि भई व्यवसाय सञ्चालन गर्न रु दुईलाख धरौटी राखी इजाजतपत्र लिनुपर्ने अनिवार्य व्यवस्था गरेकामा त्यसको स्वागत गर्दै एसोसिएसनले धेरै भन्दा धेरै व्यवसायीलाई सो नियमको कार्यान्वयन गरी वैधानिक ढङ्गले अघि बढ्न आग्रह गरेको छ । रासस

No comments:

Post a Comment