Friday, October 19, 2012

सेक्सी प्रचण्ड, स्खलित बाबुराम र दशैं

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका नेता लगायतले वितेका वर्षका सन्देशहरुमा बर्ष सच्याएर दिने केही थान शुभकामना वक्तव्यहरु नै देशवासीले यसवर्ष गणतन्त्र नेपालबाट पाउने दशैं तिहारको अब्बल उपहार हुनेछ। सत्ताघटकसँग सम्वन्धित बाहेक दलका नेता, कार्यकर्ता वा समर्थकहरुलाई दामविहीन दशैं हुनेछ यो, भलै उनीहरुले आन्दोलनको काम दिने भनेर कार्यकर्तालाई अल्झाइरहेकै छन्। प्रचण्डको माओवादी र मधेशी मोर्चाका घटक लगायतका साना दलका मन्त्रीहरुलाई लाग्या छ दशैं यसपटक। पूर्पूरोले दिएरै होला दशैं नायकको भूमिकामा छन् डा.बाबुराम। कांग्रेस, एमाले, वैद्य माओवादी वा अरु सवैका लागि दशापूर्ण छ दशैं। नहोस पनि किन विचराहरुले न सत्ता पाए, न भत्ता। बरु जुकाले टोक्न छाड्ला बाबुरामले कुर्सी नछोड्ने भए। राष्ट्रपतिले गलहत्याइदेलान भन्ने कांग्रेस एमालेको सपना पनि दिनानुदिन हुरीले उडाइरहेको छ। यसै सहमति भने बुँदा मिल्दैन, नगरौं छोडौं भने यही चालले त बावुरामको मधेशी सरकार नै चिरायू भाको सपनाले पिरोलेका वेला बल्खु र सानेपा दरवारमा दशैं दशा बन्नु अर्को विकल्प नभएर के हुनु त।
 

तथापी न्यूरोड र रत्नपार्कतिर सन्ध्याकालपछि चल्ने नीति रहित खुल्ला संस्कृति सरहको सेक्स बजार जस्तै वनिरहेको राष्ट्रिय राजनीतिमा आफुलाई नायक सावित गर्न कुनै दल वा तिनका नेता पछि पर्ने सुरमा देखिदैनन्। झट्ट हेर्दा कामचलाउ भनिएपनि कार्यकारी भएका कारण डा. भट्टराई नै आफुलाई नायक दावी गरेर थाकेका छैनन्। सिंहदरवारबाट हेर्दा आफुलाई नायक देख्नु, अनुभव गर्नु पनि सोर्‍है आना नाजायज भएन। तर नमरि जाने, न गरि खाने यी मधेशी मन्त्रीका प्रधानमन्त्रीले अव बुझे हुन्छ सवसे स्खलित प्रधानमन्त्री देशले भोग्दै छ भने यही हो। यसकारण उनले कम्तीमा बिजयादशमीका दिन राष्ट्रवासीलाई सम्वोधन गरेर कुर्सी खाली गर्ने साहस गरुन, धर्मलाई अफिमको संज्ञा दिने माओका अनुयायी डा. बाबुरामले नमाने पनि नवदुर्गा भवानीले उनलाई यति आशिर्वाद दिए हिसिला एण्ड कम्पनी वाहेक सवलाई दशैंको सञ्चो हुन्थ्यो।
नेता त्रय सुशील, रामचन्द्र र शेरवहादुरले अव कांग्रेसलाई प्रजातन्त्रको मसिहा ठान्ने मात्र जान्न छाडेर कांग्रेस यो हालमा विटुलिनु पर्ने कारणको खोजी मात्र गर्न सके भने विना सत्ताको आगामी चुनाव वा यो दशैं शुभै हुनेछ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र शाहको सत्ता इगोका कारण विना स्पष्ट कार्यदिशा र दृष्टिकोण दिल्लीको उक्साहटमा प्रचण्डलाई जो माग, उही सदर नगरिदिएका भए, कांग्रेसले अहिलेको हालत व्यहोर्नुपर्ने थिएन , भन्ने सत्यवोध कांग्रेसजनलाई भइसक्याछ। अव नेता त्रयले यो वुझे मात्र पनि पर्याप्त हुनेछ। र जसरी पनि आफ्नै नेतृत्वमा चुनावी सरकारको नेतृत्वको रटान र अडान मात्रै त्याग्ने आँट गरेमा पनि कम्तीमा सुशील र शेरबहादुरको कद छोटिने छैन, लल्लौरा बाहुन रामचन्द्र त केवल बुख्याँचा हुन्, तिनको गिन्ती नै बेकार छ।
एमालेको हकमा झलनाथ र माकुनेका खुट्टी जनताले देखिहाले। मलाई चाहियो भन्न छाडे भने राजनीतिक चतुर्‍याईँमा केपी वलीले भावी सरकारको नेतृत्वका लागि सपना देख्ने छुट छ। आफ्नो राजनीतिक कप्ट्याईँ र धुर्त्याईंमा उनले नवदुर्गा भवानीसँग बर मागे भने बाबुराम भन्दा फरक टेष्ट हुनसक्छ। हिन्दूस्तान पनि आखिर दशैं मान्ने देश न पर्‍यो। विजय गच्छदार, महन्थ, हृदयश वा अन्य मधेशी नेताहरुले भावी सरकारको नेतृत्वको सपनाको देख्ने छुट त छ तर दशैमा मात्रै अर्को सत्ताका लागि मन्त्रालयको समीकरण सम्मको वर मागे मात्रै दशै अरु उल्लासमय होला।
सांगोपाङ्गो हिसाव गर्दा राजनीतिक बेश्यालयका नायकहरु यीनै भए पनि वढी सेक्सी नायक भने प्रचण्ड नै शक्ति भएका छन्। उनी पनि काकताली परेर हो, लायक भएर त होइन भन्ने त उनकै छवि र भूमिकाले प्रष्ट्याइसकेको छ। ज्ञानेन्द्रले सत्ता छोडिदिएपछि राजनीतिलाई विजनेस दिन सक्नु नै हाम्रा ठूला नेताहरुको कुशल योग्यता हुनु त दुर्भाग्यपूर्ण बिडम्वना हो। तथापी कुनै न कुनै रुपमा संवैधानिकताको खडेरीका वीच सहमति, सडक, मोर्चावन्दी वा चुनावको एजेण्डा प्रस्तुत गर्न र थोरधेर पक्षलाई पछि लाउन असक्षम नभइसकेका कारण पनि राजनीतिक वेश्यालय भित्रका प्रखर सेक्सी देखिएका छन् प्रचण्ड। बाबुरामलाई खुइल्याउन र आफुलाई भावी राष्ट्रपतिका लगभग एक्लो संभावित देखाउन उनले बादल–बैद्य वा विप्लवहरुसँग समेत जेण्टलमेन्ट पारपाचुके सहित सम्वन्ध राख्न सकेका छन्। पूर्व भएका भए पनि ६०१ मध्येका दुई तिहाई माननीयहरुलाई कम्तीमा भावी संविधानको संघीयता र सासकीय स्वरुपका मामलामा आफुमा सहमत गराउन सकेको देखियो। र, कथंकदाचित संविधानसभा पुनर्स्थापित भए त्यहाँ उनको पौरख आंशिक विजयमा वदलिने पक्का प्राय : छ। केपी वलीको नि अरुले प्रचण्ड ट्याक्टीसलाई चुनौति दिन योग्यता प्रमाणित नगरेको पृष्ठभूमिमा सुशील र झलनाथलाई विश्वासमा लिन सके यो दशैं प्रचण्डकै लागि फलिफाप हुने छाँट छ। तर खै उनले आफुलाई राजनेता वनाएनन् वनाएनन्, कम्तीमा सक्षम पार्टी नेता मात्र सावित गरेभने पनि उनको राजनीतिक सेक्स अपिलले नयाँ सत्ता गठवन्धन सहित देशलाई नयाँ चुनावमा डोर्‍याउने छ र जनताले फेरि एकपटक शान्तिपूर्वक भोट खसाल्न पाए भने त्यो नै नवदुर्गा भवानीको असली आशिर्वाद हुनेछ यो देशमा तपाई हामी जस्ता आम जनतालाई है न त?
आखिर चोरलाई चौतारो, साधुलाई सुली गर्ने राजनीतिज्ञलाई आ–आफ्नो कर्मको फल र औकातको पुरस्कार दिंदै राजनीतिलाई परिवर्तनको संवाहक वनाउन त वालिक मतदाता दिन कुरेर वसेकै छन् नि हैन र? सवसे शक्तिशाली समय नै हो। समयसँग हिंड्न खोज्ने दुई शक्ति कांग्रेस र प्रचण्ड माओवादी नै देखिए। यी दुईले गिभ एण्ड टेक गरेर संविधानसभा पुनर्स्थापना मार्फत आंशिक संविधान जारी गर्दै नयाँ संसदको चुनाव गराउन अव पनि ढिला गरे भने पोखरेलीले अस्ती मात्रै ज्ञानेन्द्रलाई अभिनन्दन गरे क्यार, त्यसपछि त २०४७ सालको संविधान सडकबाटै लागू नहोला भन्ने ग्यारेन्टी छैन नि छ त? गिरिजाप्रसादको बेइमानी र हठी राजनीतिक स्वार्थले प्रचण्डलाई यस्तै राष्ट्रनायक वन्ने अवसर अझै समाप्त नभइसकेकाले प्रचण्डले अव आफुलाई फरक धातुले वनेको प्रमाणित गर्ने पनि यो अन्तिम मौका हो। भारतीय बुँख्याचा वनेका बाबुरामको सत्तास्खलनसँगै पार्टी र देशलाई जोगाउने खराब मध्येका कम खराब कमरेड प्रचण्डले अव त चेत्नु परेन र भन्या ?

No comments:

Post a Comment