Monday, October 29, 2012

अमेरिकी निर्वाचन सन् २०१२ : प्रजातन्त्रका लागि खर्च छ अर्ब अमेरिकी डलर

काठमाडौं, कात्तिक ११ - यस वर्षको अमेरिकी निर्वाचन खर्च छ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ र हाल राष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाराक ओबामा तथा म्यासाचुसेट्सका पूर्व गभर्नर तथा रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नीले प्रति सेकेन्ड २६.८६ अमरिकी डलर खर्च गरिरहेका देखिएको छ।

यी अनुमान र खर्च विवरण बीबीसी तथा सीएनबीसीले आफ्नो अनलाईन संस्करणमा दिएका हुन्। यस समयमा दुबै उम्मेदवार निर्वाचनसभा, ब्यानर, टेलिभिजन विज्ञापनमार्फत जनतामा पुगिरहेका छन् ।
बीबीसीले यस विषयमा अमेरिकी सङ्घीय निर्वाचन आयोगका पूर्व प्रमुख माइकल टोनरलाई प्रश्न गर्दा उनले निर्वाचन खर्चमा हाल सीमा नै नभएको बताए । अमेरिकी अर्थतन्त्र मन्दीबाट गुजि्ररहेको अवस्थामा खर्च त कटौती हुनुपर्ने हो तर टोनरको धारणामा अमेरिकी निर्वाचनमा कम खर्च हुनु आवश्यक छैन।
उनले मतदातालाई निर्वाचनमा संलग्न गराउने तथा मतदान केन्द्रसम्म पुर्या्उने जुनसुकै कुरा राम्रै भएको बताए । उनले यो अमेरिकी राजनीतिका लागि निकै राम्रो भएको, यो निकै गहन निर्वाचन भएको र यसमा निकै कुरा दाउमा लागेको उल्लेख गरे ।
निर्वाचनको दिन आउन एक साता र केही दिनमात्र बाँकी हुँदाको अवस्थामा राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नीबीच भिन्न वैचारिक अवधारणाले अमेरिकालाई नै विभाजित गरिदिएको मेल अनलाइनमा म्याक्स ह्यास्टिङले उल्लेख गरेको छ।
यस निर्वाचनमार्फत रोम्नी सरकारी खर्च र कर कटौती गर्न, राष्ट्रपति ओबामाको स्वास्थ्यसम्बन्धी कानुन खारेज गर्न चाहन्छन् भने इरान तथा चीनसँग सङ्घर्ष गर्न चाहँदैनन् । अर्कोतिर राष्ट्रपति ओबामाले आफ्ना नीतिका कारण अर्थतन्त्रले पुनर्स्थापना भएको र बेरोजगारी घटेको दाबी गर्छन् । यस निर्वाचनमा उम्मेदबारबीच अर्थतन्त्र, विदेशनीति, महिला अधिकार, स्वास्थ्य कार्यक्रम जस्ता विषयमा फरकफरक धारणा देखिएका छन्।
नोभेम्बर ६ मा हुने निर्वाचनमा राष्ट्रपति ओबामालाई रोम्नीले कडा चुनौती दिनुहुने देखिएको छ र हालका अभिमत सर्वेक्षणहरूले यी दुई उम्मेदवारको लोकप्रियतामा भिन्नता निकै कम देखाएका छन्।
सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले दिएको तथ्याङ्कअनुसार नोभेम्बर महिनाको निर्वाचनमा ५.८ अर्ब अमेरिकी डलर खर्च हुने देखिएको छ। यो सन् २००८ को तुलनामा ७ प्रतिशतले बढी हो। यस निर्वाचन खर्चमा संसदको निर्वाचनको खर्च पनि जोडिएको छ।
यस वर्ष सुपर प्याक र अन्य बाह्य समूहलाई पनि निर्वाचनमा अप्रत्यक्ष रूपमा खर्च गर्न अनुमति प्राप्त भएको छ। उनीहरूले यस निर्वाचनमा ७५ करोड अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।
बीबीसीले यसलाई बेलायती आम निर्वाचनसँग तुलना गर्दा अमेरिकी निर्वाचन १२० गुणा महङ्गो भएको अनुमान गरेको छ।
अमेरिकामा यस्ता सङ्घीय निर्वाचनमा खर्च प्रतिव्यक्ति १८ अमेरिकी डलर हुने गरेको छ भने बेलायतमा सन् २०१० को निर्वाचनमा प्रतिव्यक्ति ८० सेन्ट खर्च भएको देखिएको छ। क्यानडामा सन् २०११ मा भएको निर्वाचनमा प्रतिव्यक्ति आठ अमेरिकी डलर बराबर खर्च भएको थियो।
यस वर्ष रिपब्लिकन पार्टीको मात्र प्राइमरी निर्वाचन भएको र सन् २००८ मा जस्तै दुबै पार्टीको प्राइमरी निर्वाचन भएको भए खर्च अझै बढ्ने धारणा रायटर्सले राखेको छ।
राजनीतिक विज्ञापन विषयमा अध्ययन गर्ने वेस्लेयन मेडिया प्रोजेक्टका माइकल फ्रान्जले अमेरिकी निर्वाचन खर्च पागलपनापूर्ण रूपमा उच्च हुन थालेपनि यस विषयलाई अर्को कुन कुरासँग तुलना गर्ने भन्ने कुराले यसको औचित्य प्रमाणित गर्ने बताए ।

उनले अमेरिकी निर्वाचन खर्चलाई अफगानिस्तानमा अमेरिकी सैनिक खर्चसँग तुलना गर्दा यो तुलनात्मक रूपमा सस्तो भएको बताए ।

माइकल टोनरको अर्को रोचक प्रतिप्रश्न थियो : 'गत वर्ष अमेरिकी जनताले 'पोट्याटो चिप' मा सात अर्ब अमेरिकी डलर खर्च गरे। के एउटा स्वतन्त्र विश्वका नेताको मूल्य पनि त्यत्ति छैन र?'
हालका वर्षमा अनलाइन अभियान निकै विस्तार भएको क्षेत्र हो। त्यहाँको खर्च भने तुलनात्मक रूपमा कमै छ। यस निर्वाचनमा टेलिभिजनमा विज्ञापन सबैभन्दा बढी खर्चको माध्यम बनेको छ। यसले निर्वाचन अभियानको करिब आधा खर्च ओगटेको छ।
बेलायतमा निर्वाचन अभियानको प्रसारण खर्च लाग्दैन र त्यहाँ यस्तो खर्च गर्न अनुमति दिइन्न। यसैले यस्तो समय पनि निकै सीमित हुनेगर्छ।
अमेरिकी निर्वाचन पछिल्लो निर्वाचनभन्दा निकै महङ्गो हुनेगर्छ र यो प्रवृत्ति दशकौँदखि निरन्तर कायम छ। डेमोक्रयासी २१ नामक समूहका प्रमुख फ्रेड वर्थाइमरले निर्वाचन खर्चसम्बन्धी कानुनमा सुधार गर्न गत चार दशकदेखि प्रयास गरेका छन् ।
उनका अनुसार यस खर्चले टेलिभिजन स्टेसनहरूको अभिरुचिलाई मात्र सहयोग गर्छ र टीभी स्टेसनहरूले निर्वाचन विज्ञापनबाट राम्रो कमाइ गरिरहेका छन्। यसले अमेरिकी जनताको अभिरुचिलाई सहयोग गर्दैन। निर्वाचनमा खर्च गर्न रुचाउने थोरै सङ्ख्याका अर्बपतिहरूले निर्वाचनको नतिजालाई प्रभावित बनाउन खोज्ने अवस्था पनि देखिएको छ।
अर्कोतिर वासिङ्टनमा निर्वाचनका लागि खर्च जुटाउने कार्य चौबीसै घण्टा, सातै दिन र वर्षभरिनै निरन्त रहने देखिएको छ र वर्थाइमरका अनुसार यसले मुलुकको अभिरुचिलाई पनि सहयोग गर्दैन।
अमेरिकामा निर्वाचन अभियानको खर्चलाई नियन्त्रण गर्ने सार्वजनिक वित्तीय प्रणाली पनि छ तर राष्ट्रपति पदका दुबै उम्मेदवारले आफूले चाहेअनुसार खर्च गर्न यस प्रणालीलाई लागू गर्न चाहेनन् ।

राष्ट्रपति ओबामाले सन् २००८ को निर्वाचनमा यस प्रणालीलाई लागू गर्नुभएन र उनले निर्वाचनको पछिल्लो साता गरेका थप खर्चले उनलाई तत्कालिन प्रतिद्वन्द्वी जोन म्याकेनविरुद्ध विजय हासिल गर्न सजिलो बनाएको विशेषज्ञहरूको धारणा छ।
यसै कारण राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नी निरन्तर रूपमा कोष जुटाउने प्रयासमा छन् । केही विशेषज्ञले त यसले राष्ट्रपतिलाई आफ्नो कार्यालयको कामको सट्टा यस्तो कोष जुटाउने प्रयासमा लगाउनसक्ने आशङ्का गरेका छन्।
अर्कोतिर निर्वाचनका लागि खर्च हुने पैसा तथा अभियानले निकै कम प्रभाव पार्ने धारणा राख्ने विद्वानहरू पनि छन्। राजनीति शास्त्रका प्राध्यापक जेम्स क्याम्पवेल मतदाता निर्वाचन अभियानले भन्दा पनि केही प्रमुख विषयबाट प्रभावित हुने धारणा राख्नुहुन्छ। उनीहरूका अनुसार अर्थतन्त्र एक महत्वपूर्ण विषय हो।
क्याम्पवेल जस्ता विद्वानहरू मतदाताले आफ्नो पार्टीप्रतिको सद्भाव परिवर्तन गर्ने अवस्था निकै कम हुने र यस्तो सद्भाव परिवर्तन गर्ने मतसङ्ख्या दुईदेखि तीन प्रतिशत मात्र हुने धारणा राखेका छन्। यस निर्वाचनमा प्रतिस्पर्धा निकै तीब्र छ र हाल सानो अन्तरले पनि विजय वा पराजय हुनसक्ने अवस्था देखिएको छ।
अर्कोतिर एनेनबर्ग पब्लिक पोलिसी सेन्टरका निर्देशक क्याथलिन हल जेमिसनकाअनुसार विज्ञापनले कसलाई मतदिने भनी निर्णय नगरेका मतदातालाई आकर्षण गर्ने मात्र नभई आफ्ना मतदातालाई पनि परिचालन गर्ने धारणा व्यक्त गर्नुभयो। उनले कुनै उम्मेदवारले निर्वाचनमा खर्च गर्न छोडेमा उसले निर्वाचनलाई नै परित्याग गरेको देखिने दाबी गरे । रासस (स्रोत : विभिन्न समाचार संस्था तथा इन्टरनेटका सामग्री)

No comments:

Post a Comment