Monday, October 29, 2012

न्युयोर्क टाइम्स चीनमा ब्लक

न्युयोर्क, कात्तिक १० (एजेन्सी)- चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको सम्पत्ति बारे समाचार लेखेपछि अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको चिनियाँ भर्सनलाई चीनमा प्रतिबन्ध गरिएको छ। अति गरिब परिवारमा जन्मिएका जियाबाओले राजनीतिक नेतृत्व सम्हालेपछि अकुत सम्पत्तिको मालिक बनेको न्युयोर्क टाइम्सले लेखेको थियो।

न्युयोर्क टाइम्सका अनुसार जियाबाओ र उनका नातेदारहरुसँग अहिले २ अर्ब ७० करोड अमेरिकी डलरको पूँजी छ। जियाबाओकी आमा उत्तरी चीनको एक विद्यालयमा शिक्षक थिइन् भने माओको राजनीतिक क्रान्तिमा सामेल पिता सुँगुर पाल्ने गर्थे।

जियाबाओसँगै उनका नजिकका आफन्तहरु समेत अप्रत्यासित रुपमा धनी बनेको पत्रिकाले जनाएको छ। 'कुनै बेलाकी विद्यालय शिक्षाक वेनकी ९० वर्षीया आमा याङ जुयानसँग पाँच वर्ष पहिले १ सय २० मिलियन अमेरिकी डलरको पूँजी थियो', पत्रिकाले लेखेको छ। चिनियाँ कम्युनिष्ट पार्टीभित्र लोकप्रिय रहेका वेनलाई पत्रिकाको अनुसन्धानले गम्भीर धक्का पुर्‍याइदिएको छ।

पत्रिकाले भने प्रधानमन्त्री वेनले पदमा रहँदा कमसेकम ३ अरब डलरको सम्पत्ति आर्जन गरेको यथेष्ट प्रमाण आफूसँग भएको दाबी गरेको छ। वेनको शासनकालमा उनकी आमा, छोरा तथा भाइले समेत अकुत आर्जन गरेको पत्रिकाले उल्लेख गरेको छ।

गत वर्ष जियाबाओ आफैँले आफ्नो बाल्यकाल अत्यन्तै गरिबीमा बितेको उल्लेख गरेका थिए। पत्रिकाले लिखित प्रमाण सार्वजनिक गर्दै प्रश्न उठाएको छ- 'जियाबाओ परिवारले कसरी यति छिटै अकुत सम्पत्ति कमायो ?'

अनुसन्धानमूलक खबर प्रकाशित भए लगत्तै यस बारे माइक्रो ब्लगिङ साइटहरुमा अन्तरक्रिया सुरु भएको थियो। तर त्यस्ता अन्तरक्रिया गर्ने साइटमाथि नै चीनले प्रतिबन्ध लगाएको पत्रिकाले उल्लेख गरेको छ।

यसअघि चिनियाँ नेताहरुको कसरी मल्टिमिलेनियर बन्दैछन् भन्ने रिपोर्ट प्रकाशित गरेपछि ब्लुम्बर्गको वेबसाइट पनि चीनले ब्लक गरेको थियो।

No comments:

Post a Comment