Friday, October 19, 2012

निर्वाचनै गर्ने हो भने राष्ट्रपतिको पनि गरौं: दाहाल

काठमाडौ, कार्तिक ३ - संविधानसभा पुनःस्थापनाको अडानमा रहँदै आएको एमाओवादीले 'राष्ट्रपतिसहितको निर्वाचन' हुनुपर्ने नयाँ प्रस्ताव बिहीबार अघि सारेको छ । कांग्रेससँगको वार्ताक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यो प्रस्ताव राखेका हुन् । कांग्रेसले भने 'निर्वाचन पनि हुन नदिने र संविधान पनि जारी गर्न नदिई सत्ता लम्ब्याउने योजनामा माओवादी रहेको' भन्दै उक्त प्रस्तावप्रति आपत्ति जनाएको छ ।
संविधानसभा पुनःस्थापना उत्तम विकल्प भएको दाबी गर्दै वार्ताका क्रममा दाहालले निर्वाचनमा जाने भए त्यतिखेर राष्ट्रपतिसहित सबै निकायको निर्वाचन हुनुपर्ने बताएका थिए ।
दाहालको प्रस्ताव सुन्नासाथ कांग्रेस सभापति सुशील कोइराला आक्रोशित भएका थिए । 'तपाईं कहिले पुनःस्थापना, कहिले निर्वाचन र कहिले राष्ट्रपतिको निर्वाचन गर्ने भन्नुहुन्छ, तपाईंको कसरी भर पर्ने ? तपाईं मुलुकलाई द्वन्द्वतिर लैजाने बाटोमा लाग्नुभएको छ,' कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं झगडा गर्न आउनुभएको कि सहमति गर्न ?'

दाहालले आफूहरूले द्वन्द्व नचाहेको र सहमतिअनुसारै अघि बढ्न खोजेको भन्दै वातावरण सहज बनाएका थिए । उनले संविधानसभा पुनःस्थापनामा सहमति गरे कांग्रेस नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउन आफूहरू तयार रहेको बताएका थिए । 'संविधानसभा पुनःस्थापनामा सहमति नगर्ने हो भने सरकारमा हाम्रो पनि दाबी रहन्छ, हामीले तपाईंहरूको नेतृत्व नमान्ने, तपाइर्ंहरूले हामीहरूको नेतृत्व नमान्ने कसरी अघि बढ्ने ? भन्दै दाहालले बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई सहमतीय स्वरूप दिएर निर्वाचनमा जान सकिने विकल्पसमेत प्रस्तुत गरेका थिए । तर कोइरालाले कांग्रेस नेतृत्वकै सहमतीय सरकार बनाएर निर्वाचनमा सहमति गर्नुपर्ने बताएपछि दुई पक्षीय वार्ता भनाभनमै सीमित रहेर टुंगिएको थियो । राष्ट्रपति रामवरण यादवले दलहरूलाई निर्वाचनका लागि सहमति जुटाउन आग्रह गर्न थालेपछि माओवादीले राष्ट्रपतिको निर्वाचनको मुद्दा उठाएको हो । वार्तामा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले यसले 'माओवादी विपक्षीलाई अलमल्याएर सत्ता लम्ब्याउने योजनामा मात्रै लागेको पुष्टि भएको' बताए ।
'निर्वाचन पनि हुन नदिने र संविधान पनि जारी नगर्ने रणनीतिक योजनाअनुसार यो प्रस्ताव आएको हो,' सिटौलाले भने, 'अहिलेको अन्तरिम संविधानमै नयाँ संविधान जारी नहुँदासम्म राष्ट्रपति रहने व्यवस्था छ । यो जान्दाजान्दै सत्ता लम्याउन यस्तो प्रस्ताव आएको हो ।'  प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले संविधानसभा (संसद्को काम गर्ने) विघटन भएपछि सरकारको समयावधि सकिएको भनिएकाले त्यही संसद्ले चुनेको राष्ट्रपति रहिरहन नसक्ने बताए । उनले अर्को निर्वाचनमै जाने भए संविधानसभा, राष्ट्रपति र स्थानीय निकायको पनि निर्वाचन गर्नुपर्ने प्रस्ताव कांग्रेससमक्ष राखिएको बताए । 'पहिलो विकल्प संविधानसभा पुनःस्थापना गरी संविधान घोषणा गर्नेमै हाम्रो पार्टीको जोड छ,' कांग्रेससित भएको छलफलबारे पौडेलले भने, 'निर्वाचनमा जाने नै हो भने संविधानसभा (संसद्) र राष्ट्रपतिको पनि एकैचोटि हुनुपर्छ भन्ने कुरा हो ।' उनले कांगे्रस, एमालेले निर्वाचनमै जाने जोड दिइरहेकाले माओवादीले राष्ट्रपतिसहितको निर्वाचन प्रस्ताव राखेको बताए ।
सिटौलाले यस्तो प्रस्तावले शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक प्रक्रियाबाट मुलुकलाई पछि धकेल्ने काम हुने दाबी गर्दै कांग्रेसले गम्भीर निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठकसमेत बोलाउने तयारी गरेको बताए । 'शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको छलफलमा नयाँ परिस्थिति बनेछ भने त्यही सोचौंला, माओवादीको रवैया गम्भीर र रहस्यमय छ,' सिटौलाले भने, 'निर्वाचन र संविधानभन्दा सत्तालाई प्यारो ठानेर माओवादीले मुलुकलाई नयाँ खालको द्वन्द्वमा लैजाने तयारी गरेको देखिन्छ ।'  माओवादीले विवादित विषयलाई थाँती राखेरै भए पनि संविधान जारी गर्ने प्रस्तावसमेत गरेको थियो । कांग्रेसले जेठ २ को सहमतिअनुसार पूर्ण संविधान जारी गर्न कांग्रेस अझै तयार रहेको बताउँदै अपूर्ण संविधान जारी हुन नसक्ने अडान राखेको थियो । कोइरालाले संघीयतामा सहमति नहुनासाथ शासकीय स्वरूमा आफूहरूको अडान पुरानै रहेको बताएका थिए । जेठ २ गते सम्झौताका आधारमा संघीयता र शासकीय स्वरूपमा सहमति भएको बताउँदै कोइरालाले 'आफूलाई अनुकूल हुने प्रस्तावमात्रै नगर्न' माओवादी अध्यक्ष दाहाललाई भनेका थिए । 'संघीयतामा भइसकेको सहमति किन मान्नुहुन्न ?' कोइरालाको भनाइ थियो ।
वार्तामा माओवादीबाट दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई तथा कांग्रेसबाट कोइराला र सिटौलामात्रै सहभागी थिए । माओवादीको पछिल्लो प्रस्तावलाई लिएर विपक्षी कांग्रेस/एमालेले शुक्रबार राष्ट्रपतिले बोलाएको बैठकमा समेत कडा रूपमा प्रस्तुत हुने तयारी गरेको स्रोतले बतायो ।

No comments:

Post a Comment